काठमाडौं । अभानी प्रिमियर लिग २०२४ क्रिकेट प्रतियोगितामा कंगारु क्रिकेट क्लब र द रोयल खुकुरी विजयी भएका छन् ।
आफ्नो तेस्रो खेलमा अभानी द रोयल खुकुरीसँग ६ विकेटले पराजित भएको हो ।
अस्ट्रेलियाको सिड्नीमा भएको खेलमा पहिले ब्याटिङ गरेको अभानी १९ दशमलब ३ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो ।
अभानीका लागि रमन जैशले ४६ बलमा ४९ तथा सन्तोष घिमिरेले २६ बलमा १७ रन बनाए ।
खुकुरीका लागि कप्तान पियुष गौतम र अक्षय रिमालले समान ३/३ तथा सुभागं भट्टले १ विकेट लिए ।
अभानीले दिएको १ सय १७ रनको लक्ष्य खुकुरीले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
खुकुरीका लागि असिम रेग्मीले ३९ बलमा ३२ रनको ईनिङ खेले । कप्तान पियुष गौतमले २१ बलमा २९ रन बनाउँदा आकाश मानन्धरले १३ बलमा ११ रन बनाए ।
अभानीका लागि ललित कुमार, यागेन्द्र कार्की र राजविन पाठकले समान १/१ विकेट लिए ।
पहिलो जित निकालेको खुकुरी चौथो स्थानमा उक्लिएको छ । तेस्रो खेलमा पहिलो हारका साथ अभानी अंकतालिकाको शीर्ष स्थानमा कायमै छ ।
दोस्रो खेलमा कंगारु क्रिकेट क्लबले वारियर्स क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको छ ।
पहिले ब्याटिङ गरेको वारियर्सले १७ ओभरमा १ सय ५ रन बनाउँदै अल आउट भयो ।
वारियर्सका लागि इरोज खड्काले ४५ बलमा ४० तथा कप्तान सुजन चापागाईले १६ बलमा १३ रन बनाए ।
कंगारुका लागि कप्तान अमित शर्मा र सुमन तिमिल्सिनाले समान ३/३ विकेट लिए ।
१ सय ६ रनको लक्ष्य कंगारुले १८ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
कंगारुका लागि सचिन पौडेलले ३३ बलमा ३८ तथा रोजल रावतले ८ बलमा १८ रन बनाए ।
वारियर्सका लागि दीपेन्द्र थापाले ३ तथा विवेक यादवले २ विकेट लिए ।
दोस्रो खेलमा पहिलो जित हात पारेको कंगारु अंक तालिकाको पाँचौ स्थानमा छ । दुई खेलमा जित बिहिन रहेको वारीयर्स अंक तालिकाको पुछारमा रहेको छ ।
हरेक हप्ता अन्तिममा हुने यस लिगमा ८ टोलीको सहभागीता छ ।