नेपालको लगातार पाँचौं हार

काठमाडौं। नेपाल त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० सिरिजअन्तर्गत पाँचौं खेलमा पनि पराजित भएको छ।

बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई १० विकेटले पराजित गरेको हो।

नेपालले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले दुई बल बाँकी छदै कुनै विकेट नगुमाई १५१ रन बनाए।

नेदरल्यान्ड्सलाई जित दिलाउन कालिसले अविजित रहँदै सर्वाधिक ९८ रन बनाए। ६७ बल खेलेका उनले ११ चौका र एक छक्का प्रहार गरे। फेबे मोलकेनबोएर पनि अविजित रहँदै ४९ बलमा चार चौकासहित ४८ रन बनाए।

जितसँगै नेदरल्यान्ड्सले पाँच खेलबाट ६ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको थाइल्यान्ड आठ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल अंकविहीन छ।

त्यसअघि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा चार विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो ।

पूजा महतोले अविजित ६२ रनको योगदान गरिन्। उनले ५१ बलमा पाँच चौका प्रहार गरिन्। टी–२०आई मा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले गत वर्ष एसिसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेकी थिइन्।

कप्तान इन्दु बर्माले ३७ बलमा पाँच चौकासहित ३९ रनको योगदान गरिन्। रुविना क्षेत्रीले २० रन जोड्दा कविता जोशी सात रनमा अविजित रहिन्।

नेदरल्यान्ड्सका लागि आइरिस ज्वलिङले चार ओभरमा २५ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिइन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy