हैदरावादको तेस्रो हार

२०८१ चैत्र २०, बिहीबार २३:४८

काठमाडौं। सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ।

बिहीबार सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले हैदरावादलाई ८० रनले पराजित गरेको हो।

कोलकताको यो दोस्रो जित हो। जितसँगै कोलकताले चार खेलबाट चार अंक पुर्‍याएको छ। हैदरावादको भने समान खेलबाट दुई अंक छ।

कोलकताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदरावादले १६.४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन बनाउन सक्यो।

हैदरावादका हेनरिक क्यालसनले सर्वाधिक ३३ रन बनाए। २१ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। कामिन्दु मेन्डिसले २० बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए।

नीतिशकुमार रेड्डी १९ र कप्तान प्याट कमिन्स १४ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।

कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान तीन विकेट लिए। त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

कोलकाताका भेंन्कटेश अय्यरले सर्वाधिक ६० रन बनाए। २९ बल खेलेका उनले सात चौका र तीन छक्का प्रहार गरे। अंगकृश रघुंवशीले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ५० रन बनाए।

कप्तान अजिंक्य रहाणे ३८ रनमा आउट हुँदा रिन्कु सिंह ३२ रनमा अविजित रहे।

हैदरावादका मोहम्मद शामी, प्याट कमिन्स, जिशन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसको नाममा समान एक विकेट रह्यो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy