काठमाडौँ । अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ।
पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधवार सम्पन्न खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इङ्ग्ल्यान्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो।
अफगानिस्तानले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो।
इङ्ग्ल्यान्डका लागि जो रुटले सर्वाधिक १२० रन जोडे। उनले १११ बलको सामना गर्दै ११ चौका र १ छक्का प्रहार गरे। ओडिआई करियरको १७औं शतक रुटले ९८ बलमा पूरा गरे।
कप्तान जोन रुट र बेन डकेटले समान ३८ तथा ह्यारि ब्रुक २५ रनमा आउट भए। ओपनर फिल साल्ट १२ रनमा आउट हुँदा जेमी ओभरर्टन २८ बलमा ३२ रन जोड्दै आउट भए।
अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईंले ५ विकेट लिए । मोहम्मद नाबीले २ तथा फैजल हक फारुकी, गुलबदीन नैब र राशिद खानले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रनको बलियो योगफल तयार गरेको थियो।
पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको इङ्ग्ल्यान्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ। विजयी अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउँने सम्भावना कायमै राखेको छ। सेमिफाइनलमा स्थान बनाउँन अफगानिस्तानले शुक्रवार हुने खेलमा अस्ट्रेलियालाई पराजित गर्नु पर्ने हुन्छ।