काठमाडौं । नवौं संस्करणको टी-२० महिला एसिया कप आगामी १९ जुलाईबाट श्रीलंकामा सुरु हुदैछ । एसिया कपमा नेपालको यो तेस्रो सहभागीता हो ।
तेस्रो पटक प्रतियोगितामा सहभागीता जनाईरहँदा नेपाल पहिलो जितको खोजिमा रहेको छ । सन् २०१२ तथा २०१६ मा भएको एसिया कपमा सहभागीता जनाएको नेपालले अहिलेसम्म आठ खेल खेल्दा कुनै जित निकाल्न सकेको छैन ।
पहिलो पटक २०१२ मा चीनमा भएको एसिया कपमा सहभागी नेपाल समूह चरणमा खेलेका सबै तीन खेल गुमाएको थियो । दोस्रो पटक २०१६ मा थाईल्यान्डमा भएको एसिया कपमा सहभागी नेपालले राउन्ड रोबिन लिगका आधारमा भएको यस प्रतियोगिताका सबै पाँच खेलमा हार व्यहोरेको थियो ।
पहिलो सहभागीतामा नेपाल पहिलो खेलमा श्रीलंकासँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा आयोजक चीनसँग नेपाल ४५ रनले पराजित हुँदै प्रतियोगिता जित बिहिन रुपमा सकाएको थियो ।
एसिया कपको दोस्रो सहभागीता नेपालले २०१६ मा थाइल्यान्डमा भएको प्रतियोगितामा गरेको थियो । राउन्ड राबिन लिगका आधारमा भएको यस प्रतियोगितामा नेपालले खेलेका सबै पाँच खेलमा हार व्यहोरेको थियो ।
पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित नेपालले दोस्रो खेलमा श्रीलंकासँग आठ विकेटको हार व्यहोरेको थियो । तेस्रो खेलमा बंगलादेशले ९२ रनले हराएको नेपालले चौथो खेलमा आयोजक थाइल्यान्डसँग ८ विकेटको हार व्यहोरेको थियो । पाँचौ तथा प्रतियोगिताको अन्तिम खेलमा नेपाललाई भारतले ९९ रनले हराएको थियो ।