- विकेटनेपाल, माघ २१ – आइतबार
बिग ब्याश लिग टी-२० क्रिकेटको फाइनल खेलमा होबार्ट हरिकेन्सलाई २५ रनले पराजित गर्दै एडिलेड स्ट्राइकर्सले उपाधी जितेको छ। स्ट्राइकर्सको यो पहिलो बिबिएल उपाधी हो ।
अघिल्लो सिजन प्रतियोगिताको उपाधी पर्थ स्कचर्सले फाइनलमा सिड्नी सिक्सर्सलाई ९ विकेटले पराजित गर्दै जितेको थियो ।
एडिलेड ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको स्ट्राइकर्सले २० ओभरको समाप्तीमा मात्र २ विकेट गुमाएर २०२ रनको बिशाल योगफल तयार पारेको थियो । उसका लागि ओपनर ज्याक वेदराल्डले शतक प्रहार गरेका थिए । ७० बल खेलेका उनले ११५ रन बनाउन ९ चौका र ८ छक्का प्रहार गरे ।

वेदराल्डले पहिलो विकेटको लागि एलेक्स क्यारीसँग ४१ रन तथा दोश्रो विकेटको लागि कप्तान ट्रेविस हेडसँग १४० रनको साझेदारी गरेका थिए । क्यारी १८ रन बनाएर आउट भए ।
वेदराल्ड आउट भएपछी हेड र कोलिन इन्ग्रामले तेस्रो विकेटको लागि अविजित २१ रनको साझेदारी गरे। हेडले अविजित ४४ रन (२९ बल, २ चौका, १ छक्का) तथा इन्ग्रामले अविजित १४ रन (६ बल, १ चौका, १ छक्का) बनाए।
जवाफमा उत्रिएको होबार्ट हरिकेन्सले २० ओभरमा ५ विकेट गुमाउदै १७७ रनमात्र बनाउन सक्यो । उसका लागि डार्सी शर्ट र जर्ज बेलीले दोश्रो विकेटको लागि ८१ रनको साझेदारी गरे । कप्तान बेली ४६ रन बनाउन ३३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै आउट भए ।

त्यस्तै डार्सी शर्टले ६८ रन बनाउन ४४ बलमा ६ चौका र ४ छक्का तथा डानियल क्रिस्चियनले अविजित २९ रन (१९ बल, ३ चौका, १ छक्का) बनाएपनि अन्य खेलाडीहरु सस्तैमा आउट भएका थिए ।
स्ट्राइकर्सका लागि पिटर सिड्डेलले १७ रन खर्चिएर ३ विकेट हात पारे भने ट्रेविस हेडले पनि एक विकेट लिए ।
खेलमा शतक प्रहार गरेका ज्याक वेदराल्ड म्यान अफ द म्याच तथा होबार्ट हरिकेन्स डार्सी शर्ट म्यान अफ द सिरिज घोषित भए ।