इंग्ल्याण्ड बिरुद्धको टि-२० अन्तर्राष्ट्रिय शृंखला अघि भारतलाई झड्का

  • विकेटनेपाल – १७ असार, आइतवार

आगामी जुलाई ३ बाट सुरुहुने इंग्ल्याण्ड र भारतको टि-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अघि भारतलाई ठुलो झड्का लागेको छ। भारतीय दलका प्रमुख बलर जस्प्रित बुम्राहले औंलाको चोटका कारण इंग्ल्याण्ड बिरुद्धको टि-२० शृंखला गुमाउने भएका हुन्।

केहि दिन अघि सम्पन्न आयरल्याण्ड बिरुद्धको पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलका क्रममा बुम्राहको देब्रे हातको औंलामा चोट लागेको थियो। त्यसपछि उनले आयरल्याण्ड बिरुद्धको दोस्रो खेल समेत गुमाएका थिए। बुम्राहको चोटका बिषयमा आधिकारिक समाचार बाहिर नआएपनि उनले टि-२० शृंखला गुमाउने पक्का भैसकेको छ। ३ खेलको टि-२० शृंखला पछि सुरुहुने ३ खेलको एक दिवसीय शृंखलामा भने उनि ठिक हुने अनुमान राखिएको छ। टि-२० शृंखलाका लागि बुम्राहको स्थानमा भारतले दिपक चाहरलाई टोलीमा समावेश गरिसकेको छ।

Dipak Chahar

यस्तै एक दिवसीय र टि-२० टोलीका सदस्य वाशिंटन सुन्दर समेत खुटाको चोटका कारण इंग्ल्याण्ड बिरुद्धको लिमिटेड ओभर शृंखलाबाट बाहिरिएका छन्। सुन्दरको स्थानमा टि-२० टोलीमा क्रुनाल पान्ड्या र एक दिवसीय टोलीमा अक्सर पटेलले स्थान पाएका छन्। यस बर्षको इन्डियन प्रिमियर लिगमा क्रुनालले मुम्बई इन्डियन्सको तर्फबाट खेल्दै १४ खेलमा  १२ विकेट लिनका साथै २२८ रन बनाएका थिए।

यहि जुलाई ३ तारिखबाट भारतले इंग्ल्याण्ड बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय शृंखला तथा जुलाई १२ बाट एक दिवसीय शृंखला खेल्दैछ। लिमिटेड ओभर शृंखला पछि भारत र इंग्ल्याण्डको बिचमा ५ टेस्टको शृंखला हुनेछ।

भारतीय टि-२० स्क्वाड : बिराट कोहली (कप्तान), शिखर धवन, रोहित शर्मा, लोकेश राहुल, सुरेश रैना, मनिष पाण्डे, महेन्द्र सिंह धोनी (विकेटकिपर), दिनेश कार्तिक, युजभेन्द्र चहल, कुलदिप यादव, क्रुनाल पान्ड्या, भुवनेश्वर कुमार, दिपक चाहर, हार्दिक पान्ड्या, सिदार्थ कौल, उमेश यादव

फोटो: स्पोर्ट्स डट एनडीटिभी

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy