काठमाडौं । वर्षाका कारण पाकिस्तान र बंगलादेशबीचको च्याम्पियन्स ट्रफिको खेल रद्द भएको छ।
समूह चरणको आफ्नो अन्तिम खेल भारी वर्षाका कारण पाकिस्तानको रावलपिण्डीमा हुनु पर्ने खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसके पछि दुवै टोलीले समान १ अंक बाडेका छन्।
सान्त्वना जितको खोजीमा रहेका दुवै टोलीले समान १ अंकका साथ प्रतियोगिता अन्त्य गरे। यस समूहबाट भारत र न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेका छन्। आइतवार हुने भारत र न्युजिल्यान्डबीचको खेल पछि यस समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ।
समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो शुक्रवारको खेल पछि लाग्नेछ। शुक्रवार अफगानिस्तान र अस्ट्रेलियाबीच खेल हुनेछ। यस खेलमा विजयी हुने टोली सेमिफाइनलमा पुग्दा पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ।
