नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ।

सोमबार राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो। नेपालले प्रस्तुत गरेको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो।

मेरिलेबोनका नोरिसले सर्वाधिक ५६ रन बनाए। ६८ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। नेलर ५४, फ्रेन्डस ३७ र डन १९ रनमा आउट भए।

नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव र कुशल भुर्तेलको नाममा समान दुई विकेट रह्यो। करण केसी, सागर ढकाल र बसीर अहमदले पनि आफ्नो नाममा समान एक विकेट राखे।

त्यसअघि नेपालले ५० ओभरमा चार विकेट गुमाउँदै ३३५ रन बनाएको थियो। नेपालका दीपेन्द्रले सर्वाधिक ११० रन बनाए। ६७ बल खेलेका उनले १२ चौका र चार छक्का प्रहार गरे।

भीमाले ९० बलमा १० चौका र दुई छक्कासहित १०४ रन बनाए। यी दुवै रिटायर्ड हट भएका हुन्। अनिलकुमार साह २७ रनमा आउट हुँदा बसीर अहमद ३७ र करण केसी १६ रनमा अविजित रहे।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy