- विकेटनेपाल- २० माघ , शनिबार
न्युजिल्याण्डमा आयोजित अन्डर-१९ बिश्व कप क्रिकेटको फाइनल खेलमा अहिले भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गरिरहेका छन्। सेमीफाइनलमा अस्ट्रेलियाले अफगानिस्तानलाई तथा भारतले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए।
टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको अस्ट्रेलियाले ४७.२ ओभरमा २१६ रनमै सम्पूर्ण विकेट गुमाएपछि जितको लागि भारतले २१७ रनको लक्ष पाएको छ।
सुरुवात देखि निरन्तर अन्तरालमा विकेट गुमाएको अस्ट्रेलियाले पहिलो ३ विकेट ५९ रनमै गुमाएको थियो। जसपछि चौथो विकेटको लागि जोनाथन मेर्लो र परम उप्पलले ७५ रनको साझेदारी गर्दै टिमको योगफल उकासेका थिए।
उप्पल ३४ रन बनाएर आउट भएपछि पाँचौ विकेटको साझेदारीको रुपमा मेर्लोले नाथन म्याकस्वीनेसंग ४९ रनको साझेदारी गरे। म्याकस्वीने २३ रन बनाएर आउट भए जसपछि मेर्लो पनि ७६ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा अस्ट्रेलियाको इनिंग धरासायी बन्न पुग्यो। मेर्लोले १०२ बलमा ६ चौका प्रहार गरे।
अस्ट्रेलियालाई सानो योगफलमै रोक्न भारतीय बलर शिभ सिंह, इशान पोरेल, कमलेश नगरकोटी र अनुकुल रोयले समान २ विकेट आफ्नो नाम गरे भने शिभम माभीले १ विकेट हात पारे।
सन् १९८८ देखि सुरु भएको यु-१९ बिश्वकपको यो १२ औ संस्करण हो। भारत र अस्ट्रेलियाले हालसम्म ३/३ पटक यु-१९ बिश्वकप जितेको छ। सन् २०१६ बिश्वकपको उपाधि जितेको वेस्ट इन्डिज यो पटक पहिलो चरणबाटै बाहिरियो।
( फोटोहरु – आईसीसी )