- विकेटनेपाल, माघ २४ – बुधबार
भारतको दक्षिण अफ्रिका भ्रमण अन्तर्गतको तेस्रो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १२४ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ । यसअघि भएका दुई एकदिवसीयमा पनि भारतले फराकिलो जित दर्ता गरेको थियो ।
केपटाउनमा भएको खेलमा पहिले ब्याटिंग गरेको पाहुना टोलिले विराट कोहलीको बिशाल शतकसँगै ५० ओभरमा ६ विकेट गुमाएर ३०३ रनको योगफल तयार पारेको थियो ।
३०४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४० ओभरमा मात्र १७९ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो र १२४ रनको फराकिलो अन्तरले पराजित भयो ।
स्पिनरको अगाडी धरासायी दक्षीण अफ्रिका
हसिम अमला मात्र १ रन बनाउदै आउट भएपनि दोश्रो विकेटको लागि कप्तान एईडेन मार्क्रम र जेपि डुमिनिले ७८ रनको साझेदारी गरेका थिए । डुमिनीले ५१ रन (६७ बल, ४ चौका) र मार्क्रमले ३२ रन (४२ बल, २ चौका, १ छक्का) प्रहार गरे ।

तर जव भारतका लागि स्पिनरले बलिंग सुरु गरे यसअघिका दुई खेलमा जस्तै घरेलु टिम धरासायी देखियो । युज्बेन्द्र चाहल र कुलदीप यादवले समान ४/४ विकेट हात पारेपछि दक्षिण अफ्रिकाका लागि कुनै पनि ब्याट्सम्यानले सम्हाल्लिएर खेल्न सकेनन् ।
कुलदीपले ४ विकेट लिन ९ ओभरमा १ मेडन राख्दै २३ रन खर्चिदा चाहलले पनि समान ४ विकेट लिन ९ ओभरमा ४६ रन खर्चे । जस्प्रित बुम्राहको नाममा २ विकेट रह्यो ।
कोहलीको स्मरणीय पारि
यसअघि पहिलो विकेटको रुपमा खाता नखोल्दै पहिलो ओभरको अन्तिम बलमा रोहित शर्मालाई गुमाएको भारतको पारि कप्तान कोहली र शिखर धवनले सम्हाले । दोश्रो विकेटको लागि १४० रनको साझेदारी गर्नेक्रममा कोहलीले अविजित १६० रन (१५९ बल, १२ चौका, २ छक्का ) तथा धवनले ७६ रन (६३ बल, १२ चौका) को पारि खेलेका थिए ।

त्यसपछि टिमको खातामा थप २० रन जोड्दै गर्दा अजिंक्या रहाणे ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । हार्दिक पान्ड्यले १४, महेन्द्र सिंह धोनीले १० र केदार जाधवले १ रन प्रहार गर्दै आउट भए ।
त्यसपछि आएका भुवनेश्वर कुमारले अविजित १६ रन (१९ बल, १ चौका ) बनाउदै ७ औं विकेटको लागि कोहलीसँग अविजित मिलेर ६७ रनको साझेदारी गरे ।
दक्षिण अफ्रिकाको लागि जेपि डुमिनीले २ विकेट लिन १० ओभरमा ६० रन खर्चे भने कागीसो रबाडा, क्रिस मोरिस, अन्दिले फेहलुक्क्वायो र इमरान ताहिरले समान १/१ विकेट हात पारे ।
खेलमा आफ्नो एकदिवसीय करियरको सर्बाधिक दोश्रो १६० रनको पारि खेलेका भारतीय कप्तान विराट कोहली म्यान अफ द म्याच घोषित भए ।
यस्तो छ खेल तालिका
चौथो एकदिवसीय: १० फेब्रुअरी, जोहानेसवर्गमा
पाचौं एकदिवसीय: १३ फेब्रुअरी, पोर्ट एलिजावेद
छैठौं एकदिवसीय: १६ फेब्रुअरी, सेन्चुरियन
सम्बन्धित:
दोश्रो एकदिवसीय: चाहलको स्पिन नबुझ्दा दक्षिण अफ्रीकाको घरमा इतिहासकै कमजोर ब्याटिंग
पहिलो एकदिवसीय: कोहलीको शतकमा दक्षिण अफ्रिका पराजित