- विकेटनेपाल, १ माघ- सोमबार
नेपालले नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियामाथि रवाफिलो जित निकाल्दै सुखत अन्त्य गरेको छ । सोमबार दुबईको अजमानमा भएको खेलमा नेपालले लिगको अन्तिम खेलमा अस्ट्रेलियामाथि ८ विकेटको सहज जित निकालेको छ।
अस्ट्रेलियाको कुनै पनि स्तरको टिमसंग नेपालको कुनै पनि रास्ट्रिय टिमले जित निकालेको योनै पहिलो अवसर हो।

टस जितेर अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९७ रनको लक्ष्य पछ्याएको नेपालले २२ बल अगावै मात्र २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा नेपालको जितमा बलिङ र ब्याटिङ दुवै उत्कृष्ट रह्यो । नेपाललाई जित दिलाउन पदम बडेलाले बलियो शतकीय पारी खेले । पदमले १२५ रनको अविजित पारी खेले । उनले ७६ बलमा १४ चौका प्रहार गरे । बद्री चौलागाईले ३५ रनमा अविजित रहँदा नेपालले सहज जित हात पार्यो ।

तेस्रो विकेटका लागि बद्री र पदमले १ सय ३७ रनको बलियो साझेदारी गरेका थिए । त्यसअघि ओपनरद्वय रमेश बानियाँ ४७ रन र खिमानन्द गैरी १७ रनमा रनआउट भएका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका नरेश थारु पनि ३६ रनमा रिटायर्ट हर्टको शिकार भए। अस्ट्रेलिया निकै तिब्र गतिमा बलिङ गरे पनि नेपाली ब्याट्सम्यानले सबै चुनौती निस्तेज पारे। अस्ट्रेलियाको बलिङमा किफायती साबित भएका ४.२ ओभर बलिङ गर्दै २२ रन खर्चिए पनि विकेट निकाल्न सकेनन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ३६.२ ओभरमा २९६ रनमा अलआउट भयो। नेपाललाई ब्रेक थ्रु दिलाएका दुर्गादत्त पौडेलको बलिङ अस्टे«लियाको पारीमा घातक साबित भयो। अस्ट्रेलियाको लागि स्टेफन नेरोले ६३ रन र म्याट क्यामरुनले ६२ रनको योगदान दिए पनि आफ्नो टोलीको जितका लागि पर्याप्त रहेन। स्टेफन रमेश बानियाँद्वारा रनआउट हुँदा म्याटलाई उपकप्तान विक्रमबहादुर रानाले क्लिन बोल्ड गर्दै पभेलियन फर्काएका थिए । ड्यानिएल प्रिचार्ट पनि ४० रन रमेशद्वारा रनआउट हुँदा लिन्ड्से हेभनलाई ३८ रनमा दुर्गादत्तले क्लिन बोल्ड गरे ।
१० ओभरमा ९२ रन हुँदा पहिलो विकेट गुमाएको अस्ट्रलियन पारीलाई नेपाली फिल्डरले ५ रनआउट गराउँदा धरासायी पारेका थिए । नेपालको बलिङमा दुर्गादत्तले ३ विकेट लिँदा विक्रमबहादुर र भरत थापाले समान १–१ विकेट निकाले । नेपालले २३ अतिरिक्त रन खर्चिएको थियो । नेपालको जितमा शतकीय पारी खेलेका पदम बडेला म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ सय दिराम र ट्रफी हात पारे ।
कप्तान किर्तन र उपकप्तान विक्रमद्वारा सन्यास
विश्वकपको अन्तिम खेलमा अस्ट्रेलियामाथि जित निकालेपछि नेपाली टिमका कप्तान किर्तन श्रेष्ठ दुवाल र उपकप्तान विक्रमबहादुर रानाले सन्यासको घोषणा गरेका छन् ।
उनीहरुले संघका अध्यक्ष पवन घिमिरे र प्रशिक्षक रिजन प्रजुको रोहबरमा सन्यासको घोषणा गरेका हुन् । नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा नै नेपाली टोलीमा रहेका विक्रम र किर्तनले नयाँ युवा खेलाडीलाई अवसर दिन आफूहरुले सन्यास लिएको बताए ।

वि.स २०६३ सालमा नेपालमा नेत्रहीन क्रिकेट सुरु हुँदा खेल्न सुरु गरेका विक्रमले दुई टी–२० विश्वकप क्रिकेट र एकदिवसीय विश्वकपमा खेलेका छन् । किर्तनले एक टि–२० विश्वकप र एकदिवसीय विश्वकप क्रिकेट खेलेका छन् ।
उनीहरु दुवै नेपाली नेत्रहीन क्रिकेटका महत्वपुर्ण सदस्य रहेकाले दुवैको अभाव खड्किने संघका अध्यक्ष घिमिरेले बताए । विक्रमबहादुर र किर्तनले आगामी दिन आफूहरु खेलाडी उत्पादनमा लागि पर्ने बताए ।