तेस्रो तथा निर्णायक खेलमा घरेलु टोलि नेपालसँग ८ विकेटले पराजित भएपछि जिम्बावे ‘ए’ टोलीको नेपाल भ्रमण अन्तर्गत ३ खेलको ट्वान्टी-२० अभ्यास शृंखला १-१ को बराबरीमा सकिएको छ । यसअघि सम्पन्न पहिलो ट्वान्टी-२० मा जिम्बावे ‘ए’ ६ विकेटले विजयी भएको थियो भने दोस्रो ट्वान्टी-२० वर्षाका कारण रद्ध भएको थियो ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा सम्पन्न खेलमा १३७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर १५.५ ओभरमा पुरा गर्यो । उसका लागि ओपनर आसिफ शेखले ५४ बलमा १३ चौका र १ छक्काको मद्धतमा सर्वाधिक अविजित ८७ रन बनाए । यस्तै, अर्का ओपनर कुशल भुर्तेलले ३४ तथा बसिर अहमदले १० रन बनाउँदै उनको साथ थिए ।
ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ९.३ ओभरमा ८८ रनको विस्फोटक ओपनिंग साझेदारी गर्दै नेपालको जितको आधार तयार पारेका थिए । कुशललाई ब्रेन्डन मभुताले बोल्ड आउट पार्दै साझेदारी तोडे । त्यसपछि आसिफले बसिरसँग दोस्रो विकेटको लागि ३४ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याए । नेपाल जितबाट १५ रन टाढा रहँदा बसिरलाई ल्यूक जोंगवेको बलिंगमा कुड्जाई मौन्जेले डिप मिडविकेटमा सानदार क्याच गर्दै आउट पारेका थिए ।
Match Summary#NEPvsZIM_A pic.twitter.com/iqVnYVnBiB
— CAN (@CricketNep) May 4, 2022
जिम्बावे ‘ए’ को बलिंगतर्फ ब्रेन्डन मभुता ( ४-०-२७-१ ) र ल्यूक जोंगवेले ( ४-०-२६-१ ) समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको जिम्बावे ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । उसका लागि रोय कैयाले ४१ बलमा ७ चौकाको मद्धतमा सर्वाधिक ४९ रन बनाए । यस्तै, ओपनरद्वय इन्सेन्ट कैया र तडिवानाशे मरुमानीले क्रमशः १४ र २७ तथा ल्यूक जोंगवेले अन्तिममा अविजित २३ रनको योगदान दिए ।
नेपालको बलिंगतर्फ कप्तान सन्दिप लामिछानेले सानदार पुनरागमन गर्ने क्रममा ( ४-०-२५-२ ) सर्वाधिक २ विकेट लिए । पहिलो ट्वान्टी-२० अभ्यास खेलमा उनले ४ ओभरमा ५० रन खर्चिएर १ विकेट लिएका थिए । यस्तै, बसिर अहमद ( ४-०-१८-१ ) र सोमपाल कामीले ( ४-०-१९-१) समान १ विकेट हात पारे ।
ट्वान्टी-२० अभ्यास शृंखलापछि दुई टोलिबीच ३ खेलको एकदिवसीय अभ्यास शृंखला खेल्ने तालिका रहेको छ ।