च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड सेमिफाइनलमा, पाकिस्तान र बंगलादेश बाहिरिए

२०८१ फाल्गुन १३, मंगलवार ०९:०५

काठमाडौं । बंगलादेशलाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको सेमिफाइनल प्रवेश गरेको छ।

बंगलादेशले दिएको २३७ रनको लक्ष्य न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।

न्युजिल्यान्डको जितमा रविन्द्रले सर्वाधिक ११२ रन जोडे। उनले १०५ बलको सामनामा १२ चौका र १ छक्का प्रहार गरे। ओडिआई करियरको चौथो शतक उनले ९५ बलमा पूरा गरे।

चौथो विकेटका लागि रविन्द्र र टम लाथमले १ सय २९ रनको साझेदारी गरे। लाथमले ७६ बलमा ३ चौकाको सहयोगमा ५५ रन जोडे। अघिल्लो खेलमा शतक प्रहार गरेका विल योङले रनको खाता खोल्न सकेनन्। डेभोन कन्वे ४५ बलमा ३० तथा ग्लेन फिलिप्स २१ रनमा नट आउट रहे।

बंगलादेशका लागि रिषद होसैन, नहिद राना, मुस्ताफिजुर रहमान र तस्किन अहमदले समान १ विकेट लिए।

त्यसअघि पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३६ रन बनाएको थियो।

आइतवार भएको खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै न्युजिल्यान्ड भारतविरुद्धको खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो। पराजित बंगलादेश १ खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ। यस समूहमा रहेको भारतले सेमिफाइनलमा स्थान बनाउँदा पाकिस्तान पनि बाहिरिएको छ।

अब आगामी आइतवार हुने न्युजिल्यान्ड र भारतबीचको खेलबाट यस समूहको विजेता र उप विजेताको टुंगो लाग्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy