जुनेद खानको ह्याट्रिकमा मुल्तानको दोस्रो जित ( पाकिस्तान सुपर लिग )

  • विकेटनेपाल – १२ फाल्गुन, शनिवार

गत बिहिवारबाट सुरुभएको पाकिस्तानको घरेलु टि-२० क्रिकेट प्रतियोगिता (पीएसएल) मा शुक्रवार दुई खेल सम्पन्न भएका छन्। शुक्रवार भएको खेलमा कराँची किंग्स र मुल्तान सुल्तानले जित दर्ता गरे। मुल्तान सुल्तानको यो लगातार दोस्रो जित पनि हो।

पहिलो खेल :

दिनको पहिलो खेलमा इमाद वसिमको कप्तानीमा रहेको टोलि कराँची किंग्सले सरफराज अहमदको कप्तानीमा रहेको क्वेट्टा ग्ल्याडीएट्र्सलाई १९ रनले पराजित गर्यो। पहिले ब्याटिंग गर्दौ कराँचीले दिएको १५० रनको लक्ष्यको पिछा गरेको क्वेट्टाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्र जोड्न सक्यो।

मोहम्मद नवाज (फाइल फोटो)

क्वेट्टाको चेजमा उमर अमिनले ३१ र मोहम्मद नवाजले ३० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानहरुले गतिलो साथ निभाउन सकेनन्। क्वेट्टाका ६ ब्याट्सम्यान दोहोरो अंकको स्कोर जोड्नबाट विफल रहे। स्टार खेलाडीहरु शेन वाट्सन, केभिन पिटर्सन र सरफराज अहमद नचल्दा क्वेट्टाले जित दर्ता गर्न विफल रह्यो।

कराँचीको बलिंगमा कप्तान इमाद वसिम, टिमाल मिल्स र मोहम्मद इर्फान (जुनियर) ले समान २-२ विकेट लिए।

यसअघि पहिले ब्याटिंग गरेको कराँचीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४९ रन जोडेको थियो। उसको इनिंगमा म्यान अफ दि म्याच बनेका कोलिन इन्ग्रामले सर्वाधिक ४१ रनको योगदान गरेका थिए। मात्र २१ बल खेलेका कोलिनले ५ चौका र २ छक्का प्रहार गर्दा ४१ रन जोड्न भ्याए। यस्तै खुर्रम मन्जुरले ३५ र रवी बोपाराले व्यक्तिगत २४ रनको योगदान गरेका थिए।

क्वेटट्टाको बलिंग तर्फ शेन वाट्सनले ३ विकेट चट्काएका थिए। यस्तै अनवर अलि र जोफ्रा आर्चरको नाममा समान २-२ विकेट रहेको थियो।

दोस्रो खेल :

दिनको दोस्रो खेलमा मुल्तान सुल्तानले लाहोर क्वालण्डरलाई ४३ रनले हराउँदै प्रतियोगिताको दोस्रो जित हात पार्यो। मुल्तानलाई जित दिलाउने क्रमम जुनेद खानले ह्याट्रिक प्राप्त गरे।

पहिले ब्याटिंग गर्दै मुल्तानले दिएको १८० रनको लक्ष्य लाहोरका लागि ज्यादै बिशाल रह्यो। जवाफी ब्याटिंग गर्दै लाहोरले १७.२ ओभरमा सबै विकेट गुमाउँदा १३६ रन मात्र जोड्न सक्यो।

लाहोरको इनिंगमा ओपनर ब्याट्सम्यान फखर जमानले ४९ तथा उमर अकमलले ३१ रन जोडेपनि जित दिलाउन सकेनन्। लाहोरका ७ ब्याट्सम्यान दोहोरो अंक जोड्न नसक्दै पभेलियन फर्किए।

मुल्तानलाई जित दिलाउने क्रममा म्यान अफ दि म्याच बनेका इमरान ताहिर र जुनेद खानले समान ३-३ विकेट लिए। जुनेद खानले ह्याट्रिक लिंदा लाहोरले अन्तिम ७ विकेट मात्र ४ रनमा गुमाएको थियो। यासिर साह, क्यामर्न डेल्पोर्ट र रजा हसन जुनेदको ह्याट्रिकको शिकारबनेका थिए।

यसअघि पहिले ब्याटिंग गरेको मुल्तानले कुमार संगाकाराको ६३ रनको सहयोगमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७९ रन जोडेको थियो। मात्र ४४ बल खेलेका संगाकाराले ५ चौका र ३ छक्का सहित ६३ रन जोडेका थिए।

कुमार संगाकारा (फाइल फोटो)

लाहोरको बलिंगमा मुस्ताफिजुर रहमानले २ र यासिर साहले १ विकेट लिन बाहेक अन्य बलर सफल रहन सकेका थिएनन्।

प्रतियोगितामा शनिवार पनि दुई खेल हुँदैछन। पहिलो खेलमा इस्लामाबाद युनाइटेडले पेशावर जल्मीको सामना गर्दा दोस्रो खेलमा क्वेट्टा ग्लाडीएट्र्सले लाहोर क्वालण्डरको सामना गर्ने छ। प्रतियोगिताका खेलहरु संयुक्त अरब एमिरेट्स (युएई) मा हुँदैछन।

फोटोहरु : पाकिस्तान सुपर लिग (फेसबुक )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy