- विकेटनेपाल, मङ्सिर २
रयान टेन डोशेट सन् २०११ को विश्वकपपछी पहिलोपटक नेदरल्याण्डको लागि खेल्ने भएका छन्। विश्व क्रिकेट लिगको अन्तिम चरणको दुई खेलको लागी डोशेट नेदरल्याण्डको रास्ट्रीय टोलीमा फर्किएको नेदरल्याण्ड क्रिकेटले जनाएको छ ।
तालिकाको शिर्ष स्थानमा रहेको नेदरल्याण्डको अब बाँकी अन्तिम चरणका खेलहरु नामिबिया बिरुद्द आगामी डिसेम्बर महिनाको ६ तारिख र ८ तारिखमा दुबईमा खेल्ने तालिका रहेको छ ।
३७ बर्षका उनले अन्तिम पटक सन् २०११ को भारत र श्रीलंकाले संयुक्तरुपमा आयोजना गरेको विश्वकपमा नेदरल्याण्डको नेतृत्व गरेका थिए । प्रतियोगितामा दुई शतक प्रहार गर्दै एउटा विश्वकपमा एकभन्दा धेरै शतक प्रहार गर्ने खेलाडीहरुको सुचिमा भारतका सचिन तेन्दुलकर र दक्षिण अफ्रिकी खेलाडी एबी डी भिल्लियर्स पछी तेस्रो बनेका थिए ।
इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, पाकिस्तान सुपर लिगको अनुभब भएका खेलाडी पुनः खेल्न आउनु खुसीको कुरा भएको नेदरल्याण्डका प्रशिक्षक समेत रहेका पुर्व-अस्ट्रेलियन क्रिकेटर रायन क्याम्पबेलले बताएका छन्। त्यस्तै उनीसँग हालसालै काउन्टी क्रिकेटको टिम एसेक्सलाई कप्तानी सम्हाल्दै रोयल लन्डन कप क्रिकेटको उपाधी जिताएको अनुभव पनि रहेको छ ।

क्याम्पबेलले थपे, “उनले टिममा रन, विकेट र उत्कृस्ट फिल्डिंगमात्र सहयोग गर्ने छैनन् आवस्यक रहेको अनुभव र ज्ञानको समेत भरपुर फाइदा टिमलाई हुनेछ ।”
नेदरल्याण्ड क्रिकेटले नामिबियासँगको खेलको लागि घोषणा गरेको टिममा अचानक रयान टेन डोशेटको नाम परेपछि संचारमाध्यममा उनको चर्चा चुलिएको थियो । उनको चर्चा चुलिनुको र्को कारण भनेको उनी एकदिवसीय क्रिकेटमा अहिलेसम्म सबैभन्दा धेरै औसत भएका खेलाडी हुन् ।
एकदिवसीय क्रिकेटमा उनको औसत भारतका कप्तान विराट कोहली, पाकिस्तानका बाबर अजाम, दक्षिण अफ्रिकाका खतरनाक ब्याट्सम्यान एबी डी भिल्लियर्सको भन्दापनि धेरै रहेको छ । बर्तमान अवस्थामा रयान टेन डोशेटको औसत ३३ एकदिवसीय खेलबाट ६७ को रहेको छ जसमा उनले कुल १५४१ रन बनाएका छन् ।
नामिबिया सँग खेल्ने नेदरल्याण्डको टोलि:
पिटर बोरेन (कप्तान), वेस्ली वारेसी, बेन कूपर, रयान टेन डोशेट, पौल भान मिरकिरण, स्टेफन माईबर्ग, म्याक्स ओ’डाउड, स्कोट ईडवर्ड्स, सिकन्दर जुल्फिकर, रोएलोफ भान्डर मोर्वे, शेन सनाटर, पिटर सेलार, टिम भान्दर गौतेन, फ्रेड क्लास्सेन, विव किंग्मा