पहिलो टेस्टमा भारत पराजित, फिलान्डरको उत्कृस्ट बलिंगमा दक्षिण अफ्रीकाको रोमान्चक जीत

२०७४ पुष २४, सोमबार २१:००

  • विकेटनेपाल, २४ पौष – सोमबार 

पहिलो टेस्टमा भारतलाई ७२ रनले पराजित गर्दै ३ टेस्टको सिरिजमा दक्षिण अफ्रीकाले १-० को अग्रता लिएको छ।

केप-टाउनमा सम्पन्न टेस्टको चौथो दिन भारतलाई जितको लागि २०८ रन आवस्यक थियो तर ४२.४ ओभरमा १३४ रनको योगफलमा सम्पूर्ण टिम पेभेलियन फर्किएपछि दक्षिण अफ्रीकाले जित हात पार्यो।

भारतलाई सस्तोमा समेट्दै नतिजा आफ्नो पक्षमा पार्न अफ्रिकी बलर भेर्नोन फिलान्डर एक्लैले ६ विकेट हात पारेका थिए। टेस्ट करियरकै उत्कृस्ट बलिंग गरेका उनले १५.४ ओभर बलिंग गर्ने क्रममा ४ मेडन ओभर फाल्दै ४२ रन खर्चिए। यस्तै मोर्ने मोर्केलले २ ( ११-१-३९-२ ) र कासिगो रबाडाले २ ( १२-२-४१-२ ) विकेट आफ्नो नाम गरे।

फिलाण्डरले करियरकै उत्कृस्ट बलिंग गरे

भारतको लागि आठौँ नम्बरमा ब्याटिंग गरेका रबिचन्द्रन आश्विनले सर्बाधिक ३७ रन बनाएर संघर्ष गरे पनि जितको लागि पर्याप्त भएन। कप्तान बिराट कोहलीले २८, शिखर धवनले १६, भुवनेश्वर कुमारले अविजित १३ तथा मुरली विजयले १३ रन बनाए।

आठौँ विकेटको लागि आश्विन र भुवनेश्वर कुमारले ४९ रन जोड्दै घरेलु टिमको जितमा बाधा बनेपनि फिलान्डरले दोश्रो इनिंगको ४३ औं ओभरमा ३ विकेट लिंदै जित दिलाएका थिए। उक्त ओभरमा उनले आश्विन, मोहम्मद शामी र जस्प्रित बुम्राको विकेट लिए।

विकेटपछि बिराट कोहली

दक्षिण अफ्रीका दोश्रो इनिंग 

वर्षाको कारण तेश्रो दिन खेल पुरै प्रभावित भएपछि चौथो दिन दक्षिण अफ्रीकाले ६५/२ को अवस्थामा ब्याटिंग सुरु गरेको थियो।

चौथो दिन पहिलो सत्रमा दक्षिण अफ्रीकालाई लन्च भन्दा अगाडीलाई अलआउट गर्न भारतीय बलर जस्प्रित बुम्रा र मोहम्मद शामीले ३/३ विकेट तथा भुवनेश्वर कुमारले २ विकेट हात पारे। हार्दिक पण्ड्या पनि २ विकेट यस अघिनै आफ्नो नाम गरेका थिए।

दक्षिण अफ्रीकाको लागि ओपनिंग ब्याट्सम्यानद्वय एडेन मार्क्रम र डीन एल्गरले क्रमशः ३४ र २५ रन बनाए। एबी डीभिल्लर्सले ३५ तथा केशभ महाराजले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टेस्टको पहिलो इनिंगमा दक्षिण अफ्रीकाले २८६ रन बनाएको थियो जसको जवाफमा भारतले २०९ रन मात्रै बनाउन सकेको थियो।

दुई टिम बीच आगामी टेस्ट जनवरी १३ मा सेन्चुरियनमा खेलिनेछ।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy