युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।

आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गरेको हो। योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन्।

थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा युएईले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले तीन बल बाँकी हुँदा पाँच विकेट गुमाउँदै पूरा गर्यो।

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३०, रुविना क्षेत्रीले २३, सम्झना खड्काले २१ र पूजा महतोले १३ रन बनाए।

युएईका लागि मिसेल बोथ, सुरक्षा कोटे, वैष्णभी महेश र कप्तान इशा ओजाले सामना एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रनको योगफल तयार पारेको थियो।

युएईका लागि इशा ओजाले ३९, तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाए।

नेपालका लागि मनिषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमति ऐरीले एक विकेट लिए।

अब नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल दुवै टोलीका लागि अभ्यास मात्रै हुनेछ। नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो। अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ। उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy