आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

२०८१ माघ २६, शनिबार १९:००

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ।

तल्लो मूलपानी मैदानमा शनिबार सम्पन्न फाइनलमा प्यारामाउन्टले आस्थालाई ३८ रनले पराजित गरेको हो। उपाधिसँगै प्यारामाउन्टले एक लाख रुपैयाँ हात पार्‍यो। आस्थाले भने २५ हजार रुपैयाँमा चित्त बुझायो।

प्यारामाउन्टले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पछ्याएको आस्थाले चार बल बाँकी छदा सबै विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो। आस्थाका सुगम बुढाथोकीले सर्वाधिक ६८ रन बनाए। तर, उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। सुयोग भट्टराईले १३ र आशिष् रानामगरले १० रनको योगदान दिँदा अन्य ब्याटर दोहोरो अंकमा रन जोड्न असफल रहे।

प्यारामाउन्टका शिव कुँवर आशुतोष पाण्डेले समान तीन विकेट हात पारे। सागर भण्डारीले दुई विकेट लिँदा सन्देश थापाको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको प्यारामाउन्टले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको थियो।

प्यारामाउन्टका सन्देश पन्थीले सर्वाधिक ५३ रन बनाए। अमन बोहरा ४२, सन्देश थापा ३५ रनमा आउट हुँदा शिव कुँवर दुई रनमा अविजित रहे। आस्थाका अभिनाश सिंहले सर्वाधिक दुई विकेट लिए। सुगम बुढाथोकी र आशिष् रानामगरको नाममा समान एक विकेट रह्यो।

फाइनल खेलको ‘म्यान अफ द म्याच’ सन्देश पन्थी रहे। यस्तै, ‘क्याच अफ द म्याच’ सन्तोष गजमेयरले पाए। प्रतियोगिताको उदीयमान बलर वेस्टर्न क्रिस्टल एकेडेमीका सचिन भट्ट, उत्कृष्ट ब्याट्सम्यान आस्था कलेजका भूपालकुमार दंगाल र ‘प्लेयर अफ द सिरिज’ प्यारामाउन्टका सन्तोष थापा घोषित भए।

हाइप यति इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरी कुल आठ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको राष्ट्रिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी पुगेका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy