काठमाडाैँ। निर्मल बटिका स्कुलको खेलमैदानमा आयोजित बेसिक क्रिकेट क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ।
पुष्पलाल स्पोर्ट्स सेन्टरको आयोजनामा र टोखा वडा नम्बर ११ को सहकार्यमा सम्पन्न उक्त क्याम्पमा १०० भन्दा बढी भाईबहिनी खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि टोखा वडा नं. ११ का वडा अध्यक्ष घनश्याम खड्का रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा टोखा वडा नं. ८ का वडा अध्यक्ष रमेश खत्री रहनुभएको थियो। साथै टोखा वडा नं. ११ की वडा सदस्य शोभा पाण्डे पनि कार्यक्रमको अतिथि रहनुभएको थियो।
प्रशिक्षण ग्रेट हिमालय क्रिकेट एकेडेमी र राष्ट्रिय खेलकुद परिषद्का क्रिकेट प्रमुख प्रशिक्षक साम्सन जङ थापा तथा सहायक प्रशिक्षक सबल अधिकारीले दिनुभएको थियो।
यस तीनदिने क्याम्पले टोखा क्षेत्रका बालबालिका तथा किशोर–किशोरीहरूमा खेलकुदप्रतिको रुचि विकास गर्नुका साथै स्थानीय स्तरमा क्रिकेट खेलको विस्तार र प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
