हैदराबादमाथि गुजरातको जित

२०८० चैत्र १८, आईतवार १९:१०

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल)को १२ औं खेलमा सनराईजर्स हैदराबादमाथि गुजरात टाईटन्सले जित हात पारेको छ ।

घरेलु मैदानमा नरेन्द्र मोदी क्रिकेट स्टेडियममा गुजरातले ७ विकेटको जित हात पार्यो ।

हैदराबादले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातका लागि साई सुदर्शनले ३६ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । डेबिड मिलरले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा अविजित ४४ रन बनाए । सुदर्शन र मिलरले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरी खेलमा गुजरातलाई जित नजिक पुर्याएका थिए ।

कप्तान शुभमन गिलले २८ बलमा २ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाए । रिद्धिमान शाहले १३ बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए ।

हैदराबादका लागि शाहबाज अहमद, मंयक मारकन्डे र प्याट कमिसंले समान १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

हैदराबादका लागि अब्दुल समादले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २९ रन बनाए । शाहबाज अहमदले २० बलमा १ चौका र १ छक्काको सहयोगमा २२ रन बनाए । समाद र अहमदले छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरे ।

अभिषेक शर्माले २० बलमा २ चौका र २ छक्काको सहयोगमा २९ रन बनाए । हेनरिक केल्सनले १३ बलमा १ चौका र २ छक्काको सहयोगमा २४ तथा ऐडन माकरमले १९ बलमा १७ रन बनाए । ओपनर ट्राभिस हेडले १४ बलमा ३ चौकाको सहयोगमा १९ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले ३ तथा राशिद खान, उमेश यादव, अजमतुल्लाह उमरजाई र नुर अहमदले समान १/१ विकेट लिए ।

तेस्रो खेलमा दोस्रो जितसहित गुजरात ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । तेस्रो खेलमा दोस्रो हार व्यहोरेको हैदराबाद पाँचौ स्थानमा झरेको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy