काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को १७ औं खेलमा कप्तान शुभमन गिलको अर्धशतकको सहयोगमा गुजरात टाईटन्सले पन्जाब किंग्सलाई २ सय रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनायो ।
गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ खेले । साई सुदर्शनले १९ बलमा ६ चौकाको सहयोगमा ३३ रन बनाए । गिल र सुदर्शनले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे । राहुल तिवातियाले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए ।
केन विलियम्सले २२ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाए । ओपनर रिद्धिमान शाहले १३ बलमा ११ तथा विजय शंकरले १० बलमा ८ रन बनाए ।
पन्जाबका लागि कागिसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेले समान १/१ विकेट लिए ।
जारी सिजनको आइपिएलमा गुजरातले तीन खेलमा दुई जित र एकमा हार व्यहोरेको छ । चार अंक सहित गुजरात अंक तालिकाको पाँचौ स्थानमा छ । गुजरातले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो । भने, दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग हार व्यहोरेको थियो । त्यस्तै तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो ।
उता, पञ्जाव किंग्सले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ । दुई अंकका पन्जाब अंक तालिकाको सातौं स्थानमा छ । पन्जाब किंग्सले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको थियो । भने, त्यसपछि रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टसँग पराजित भएको थियो ।
आइपीएल ईतिहासमा यि दुई टोली तीन पटक आमनेसामने भएका छन् । दुई खेलमा गुजरात विजयी हुँदा एक खेल पन्जाबले जितेको छ ।