चेन्नईकाे लगातार दोस्रो हार

२०८१ चैत्र १७, सोमबार ०८:१२

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजेता चेन्नई सुपर किङ्सले लगातार दोस्रो हार बेहोरेको छ।

आइतबार सम्पन्न खेलमा पाँचपल्टको विजेता चेन्नईलाई जस्थान रोयल्सले ६ रनले पराजित गरेको हो। जारी प्रतियोगितामा राजस्थानको यो पहिलो जित हो। राजस्थान र चेन्नईको समान दुई अंक छ।

राजस्थानले दिएको १८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा चेन्नईलाई जितको लागि २० रन चाहिएको थियो। तर, एक विकेट गुमाउँदै १३ रन मात्रै बनाउन सक्यो।

चेन्नईका कप्तान ऋतुराज गाडकवाडले सर्वाधिक ६३ रन बनाए। ४४ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। राहुल त्रिपाठी २३, शिवम दुबे ११८ र महेन्द्रसिंह धोनी १६ रनमा आउट हुँदा रवीन्द्र जडेजा ३२ रनमा अविजित रहे।

राजस्थानका वानिदु हसरंगाले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चिए। जोफ्रा आर्चर र सन्दीप शर्माको नाममा समान एक विकेट रह्यो।

त्यसअघि बर्सापारा क्रिकेट रंगशाला, गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए। ३६ बल खेलेका उनले १० चौका र पाँच छक्का प्रहार गरे। कप्तान रियान परागले २८ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए।

सञ्जु साम्सन २० र शिमरन हेटमायर १९ रनमा आउट भए। अन्य ब्याटरको ब्याट चल्न सकेन। चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy