यस्तो थियो – ऐतिहासिक खेलको अविस्मरणीय अन्तिम ओभर

Sharad Vesawkar

२७ नोभेम्बर २०१३, सेख जायद स्टेडियम आबुधावी

टि-२० विश्वकप २०१४ को टिकट पक्का गर्ने सुनौलो मौका नेपाल सामु थियो त्यसैले नेपाल कुनै पनि चुक गर्ने पक्षमा थिएन । हंगकंग पनि नेपाललाइ जित सुम्पने पक्षमा कदापी थिएन किनकि यो जितले बिश्वकप यात्रा सुन्स्चित थियो । पहिलो इनिंगमा नेपालले राम्रो बलिङ्ग गर्दा हंगकंगले १४३ रन बनायो। जितेन्द्र मुकियाले ३ तथा अविनाश कर्णले २ विकेट  लिए भने बसन्त रेग्मीले किफायती बलिङ्ग गरे । 

१४४ रनको लक्ष  निकै ठुलो त थिएन तर खेलको अन्तिम केहि ओभरमा महत्वपूर्ण ब्याट्सम्यानहरुले विकेट गुमाएपछि नेपाल निकै दबाबमा देखिएको थियो। कप्तानी इनिंग खेल्दै कप्तान पारस खड्का ४६ रन बनाएर १९ औं ओभरमा रन -आउट हुँदा खेलको नतिजा अझ अनिश्चितता तिर गएको थियो । खेल अन्तिम ओभरसम्म पुग्यो जसमा नेपाललाई जितको लागि १३ रन आवस्यक थियो र साथमा थियो ५ विकेट। क्रिजमा थिए भर्खरै आएका प्रदिप ऐरी र शरद भेसावकर जसको काँधमानै थियो नेपाललाई  ऐतिहासिक बिश्वकप यात्रा गर्ने जिम्मेवारी । 

यस्तो थियो त्यो अन्तिम ओभर :-

अन्तिम ओभर बलिङ्ग गर्न आए हंगकंग बलर हसिब अमजद।

पहिलो बल :- पहिलो बलमा शरद भेसावकरले अमजदले चलाखीपूर्ण गरिएको सुस्त बललाई राम्रो आंकलन गरे र बललाई कुर्दै ठुलो शट खेले। बल बाउन्ड्री लाइनको दिशामा हावामा थियो, हंगकंग फिल्डर लंग-अनबाट दौडदै आइपुगे बलकै सामुन्ने। फिल्डरको हात बलसम्म पुग्यो तर उनले सन्तुलन बनाउन सकेनन्। उनले बललाइ छक्का हुनबाट जोगाउन खोजे र हावामै बललाई बाउन्ड्री भित्रको दिशा दिए तर प्रयास असफल हुनपुग्यो। छक्का ! पहिलो बलमा शरदको ब्याटबाट ६ रन आएपछि अब नेपाललाई जितको लागि ५ बलमा मात्र ७ रन आवस्यक भयो।

दोश्रो बल :- फुलटस बल, शरद बललाई मिड-विकेटमा खेल्न चाहन्थे तर बलको गतिले उनको साथ दिएन, उनको ब्याटको भित्रि किनारा लिंदै बल फाइनलेगको दिशामा गयो। फिल्डर थिए सर्ट-स्क्वायर लेगमा, उनले बललाई पछ्याए तर बलको गति फिल्डर भन्दा निकै तेज थियो।
चौका ! दोश्रो बलमा शरदले चार रन प्रहार गरे।अब जितको लागि ४ बल मात्र ३ रन

तेश्रो बल :- पहिलो बलको छक्का, दोश्रो बलको चौकाले नेपाली दर्शक र मैदानका समर्थकहरु निकै खुसि थिए र जित नेपालकै हुनेमा ढुक्क। टिभी स्क्रिनमा खेलाडी र दर्शकहरुको खुसि निकै रोमान्चक देखिन्थ्यो। तेश्रो बलमा शरदले कडा प्रहर गरे तर बल मिड-अफ फिल्डर भन्दा अगाडी जान सकेन। १ रन त्यतिबेलासम्म नेपालको खातामा जोडीईसकेको थियो।अब जितको लागि ३ बलमा २ रन, प्रदिप ऐरी स्ट्राइकमा।

चौथो बल :- योरकर, प्रदिप ऐरी अन-साईडमा खेल्न चाहन्थे तर बल छुन असफल रहे। बल विकेट किपर तिर, १ रनको लागि प्रदिपले शरदलाई आग्रह गरे तर शरदले अस्विकार गरे। डट ! बल। अब जितको लागि २ बलमा २ रन 

पाँचौं बल :- नेपाली खेलाडीहरु र प्रदिप ऐरीको तनाब टिभी स्क्रिनमा मजैले देख्न सकिन्थ्यो । हंगकंग कप्तान जिमी एटकिन्सन नेपाली ब्याट्सम्यानहरुमा दबाब बनाउन चाहन्थे ताकि सिंगल लिन नसकुन्, फिल्डरहरु झम्टीउला झैँ गरि सिकारको लागि ब्याट्सम्यानको वरीपरि तैनाथ थिए।

योरकर ! बल, १३५ किमि/घण्टाको गतिमा प्रदिपको खुट्टामा, निकै राम्रो बलिङ्ग। पुनः प्रदिप राम्रो प्रहार गर्न असफल तर अर्को पट्टि शरद दौडीसकेका थिए, प्रदीपले पनि आँखाको इशारा बुझीहाले दौडे रनको लागि। फिल्डरहरु चारैतिर नजिकै थिए तर बल भेटुन्जेल शरद र प्रदिप सुरक्षित क्रिजमा पुगीसकेका थिए। तर १ रन भन्दा बढी लिन भने पाएनन्।

योगफल बराबरी। अब १ बल बाँकी र जितको लागि मात्र १ रन। शरद भेसावकर स्ट्राईकमा।

छैठौ र अन्तिम बल :- शरद र प्रदिप मैदानको बीचमा सल्लाह गर्दै थिए। हंगकंग खेलाडीहरु फिल्डरलाई अन्तिम प्रहारको लागि तयार हुन निर्देशन दिंदै थिए। आबुदाबि, सेख जायद मैदानमा उपस्थित दर्शकहरुको ढुकढुकी ! नेपालसम्मै सुनिन्थ्यो। दबाबलेनै होला दर्शकहरु उफ्रिरहेका थिए। टिभी स्क्रिनमा थिए सुबास खकुरेल जसले दुबै हातका औलाहरु बेरीरहेका थिए। अनिश्चितता नेपाली खेलाडीहरुको अनुहारमा प्रस्ट थियो। आखिर जहाँ पुगेपनि भगवान कहाँ भुल्छन र ? एक दर्शक दुई हात जोडी आत्मसमर्पण गरे जस्तै भावमा सायद उनैलाई याद गर्दै थिए।

आखिर कति बेर रहन्थ्यो र प्रतिक्षा ? अन्तिम बल गर्न हंगकंग बलर अमजद दगुरे।

शरदको स्कोर र हंगकंग बलरको जर्सीको नम्बर एउटै थियो ‘१२’ , धड्कनको गतिपनि सायद समाननै थियो । प्रदिपको जर्सी नम्बर थियो ‘२४’ सायद उनको मुटुको चाल शरदको भन्दा दोब्बर थियो।

नेपालको स्कोर १४३/५, जितको लागि १ रन र अन्तिम बल फाल्न क्रिजमै पुगीसकेका थिए बलर।

सिल्ली मिडअनमा फिलडर तैनाथ थिए, दुई हात घुंडामा राखी खुट्टा फ्याँ ! गरि डस्न तयार भएको साँप जसरि उनि तम्तयार थिए। बलरले बल छोड्नु भन्दा अगाडीनै प्रदिपले क्रिज छोडीसकेका थिए, १ रनत जसरि पनि लिनै पर्ने परिस्थिति।

सट-मिड अफ, सिल्ली मिड-अफ, फिल्डर अफसाईडमा तयार थिए, मात्रै बाँकी थियो महाभारतको जस्तो संख फुकेको र ‘आक्रमण’ भनेको सुन्न।

यसैबीच अमजदको यो बल, शरदले बाघले सिकारमा झम्टन खोजे जसरि सुस्त-सुस्त खुट्टा बलतर्फ अघि बढाए। १३३ किमि/घण्टाको गतिले फालेको र हल्का अफ-स्टम्प भन्दा बाहिरको बललाई अफ साइडमा ड्राईभ गरे। फिल्डर नजिकै थिए सिल्ली मिडअफमा र बल उनकै ठाउँमा पुग्यो, उनले डाईभ गरे। न्वारानकै बल लगाएका थिए शरदले, फिल्डरले बललाई नियन्त्रणमा लिन सकेनन्। बल हातबाट फुस्क्यो र लाग्यो लंगअफ तिर। क्यामराले बललाई पछ्यायो तर हंगकंग फिल्डरले बललाई पछ्याएनन्।

Sharad Vesawkar
Sharad Vesawkar

सुबास खकुरेल दौडदै थिए, हातमा ब्याट लिएर मैदानतर्फ, पारस खड्का अंगालोमा बेरिएका थिए। प्रदिप ऐरी आकाशमा हेर्दै सायद सोच्दै थिए यो उनैको कृपा हो। दर्शकहरु उफ्रिरहेका थिए, खुट्टा मात्रै हैन दुई हात आकासमा समर्पित गरेर, संसार जिते जस्तो।

मैदानको बीचमा हुलमुल देखियो, एकतर्फ अंगालोमा बेरिएकाहरु देखिन्थे भने अर्कोतर्फ निराश अनुहारहरु नचाहेर पनि त्यहाँ उभिएका। नेपालको झन्डा फहरिरहेको थियो, ‘रातो र चन्द्र सुर्य’, निकै मक्ख हुँदै संगै नाचिरहेको थियो। हंगकंग खेलाडीहरु अनुहार छोपिरहेको दृश्य भावुक थियो।

लगत्तै टिभी स्क्रिनमा एकजना मन्द मुस्कान र छाति चौडा पारेर मस्त जंगलको सिंह जसरि हिंडिरहेका प्रशिक्षक पुबुदु दासानायके देखिए। तल टिभी स्क्रिनमा लेखिएको थियो  “नेपाल द्वारा हंगकंग ५ विकेटले पराजित , नेपाल टी-२० विश्वकप २०१४ को लागि छनौट”

( फोटोहरु – रमन शिवाकोटी )





थप समाचार

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]

यस्तो छ विश्वकपका लागि नेपाली टोली

काठमाडौं । दश वर्ष पछि नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा स्थान पक्का गरेको […]

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]