पञ्जाव किंग्सको लगातार दोस्रो जित

२०८१ चैत्र १९, बुधबार ०९:०८

काठमाडौं । पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग आईपीएलमा लगातार दोस्रो खेल जितेको छ।

मंगलबार राति सम्पन्न खेलमा पञ्जावले लखनउ सुपर जाइन्टलाई ८ विकेटले पराजित गरेको हो।

लखनउले दिएको १७२ रनको लक्ष्य पछाएको पञ्जाव किंग्सले १६।२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

पञ्जावको जितमा प्रभसिमरन सिंहले सर्बाधिक ६९ रन बनाए भने कप्तान श्रेयस अय्यरले अविजित ५२ रन बनाएका थिए। त्यस्तै नेहाल वढेराले अविजित ४३ रन बनाएका थिए। त्यस्तै लखनउका बलर दिग्भेस राठीले २ विकेट लिएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।

लखनउका लागि निकोलस पुरनले सर्बाधिक ४४ रन बनाए भने आयुष बदानीले ४१ रन, एडेन मार्क्रमले २८, अब्दुल समादले २७ रन बनाएका थिए।

त्यस्तै अर्शदीप सिंहले ३ विकेट लिए भने लुकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जानसेन र युजवेन्द्र चहलले एक एक विकेट लिएका थिए।

यो दोस्रो जितसँगै पञ्जावको २ खेलमा ४ अंक जोडेको छ। त्यस्तै लखनउको भने यो ३ खेलमा दोस्रो हार हो।

त्यसैगरी आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुँदै छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy