दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन बैंग्लुरुको जितमा निर्णायक रह्यो।

दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८।३ ओभरमै चार विकेट गुमाएर सहजै पूरा ग¥यो। बैंग्लुरुको जितमा क्रुनाल पाण्डेले अविजित ७३ रनको महत्वपूर्ण योगदान दिए। ४७ बलको आफ्नो पारीमा उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए। कोहलीले पनि ४७ बलमा ५१ रन जोडे। अन्त्यतिर टिम डेभिडले मात्र ५ बलमा १९ रन जोडेर लक्ष्यमा सहजता थपे।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो। केएल राहुलले सबैभन्दा बढी ४१ रन बनाउँदा, ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रनको आक्रामक पारी खेले।

बलिङतर्फ बैंग्लुरुका भुवनेश्वर कुमारले तीन विकेट लिए भने जोस हजेलउडले दुई विकेट निकाले।

जितसँगै बैंग्लुरुले १० खेलबाट १४ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ। ९ खेल खेलेको दिल्ली भने १२ अंकका साथ चौथो स्थानमा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy