वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ।

राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार पारी खेल्दै गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्दै राजस्थानको जितको खडेरी अन्त्य गरेका हुन्।

राजस्थानका कप्तान रियान परागले टस जितेर गुजरातलाई पहिलो ब्याटिङको निम्तो दिएका थिए। शुभमन गिलले ५० बलमा ८४ रन बनाए भने जोस बटलरले ५० रन बनाउँदै राजस्थानलाई २१० रनको विशाल लक्ष्य दिएका थिए।

जवाफमा जयसवाल र वैभवले पहिलो विकेटका लागि १२ ओभरमा १६६ रनको साझेदारी गरे। वैभवले ३५ बलमा शतक बनाउन सफल भए, जुन आइपिएलमा दोस्रो सबैभन्दा छिटो शतक हो। अन्त्यमा जयसवालले ७० र रियान परागले ३२ रनको योगदान दिँदै १५.५ ओभरमा दुई विकेट गुमाउँदै २१२ रन बनाएर टिमलाई आठ विकेटको जित दिलाए।

गुजरातले खेल जितेको भए अंक तालिकामा रोयल्स च्यालेन्जर्स बैंग्लुरुलाई उछिनेर पहिलो स्थान हासिल गर्न सक्थ्यो। तर, राजस्थानका ब्याट्सम्यानले त्यसो हुन दिएनन्।

गुजरातले यस सिजन नौ खेलमा ६ जित र तीन हार बेहोरेको छ। पञ्जाब किंग्स (११ रन), लखनउ (६ विकेट), राजस्थान (८ विकेट) सँग तीन हार बेहोरेको थियो। गुजरातले पनि सिजनमा लगातार चार खेल जितेको थियो।

लगातार पाँच हार बेहोरेपछि राजस्थानले अन्ततः जितको स्वाद चाख्न पाएको छ। यस सिजनमा चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सलाई हराएको राजस्थानले जयपुरको मैदानमा गुजरातलाई पनि हराएको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy